Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पशुपति क्षेत्रमा चार किल्ला तोकेर मासु र मदिरा निषेध

    पशुपति क्षेत्रमा चार किल्ला तोकेर मासु र मदिरा निषेध

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

    असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।



    जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।



    यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    हिन्दू धर्मावलम्वी महिलाहरुको विशेष चाड तीजलाई लक्षित गरी प्रशासनले यस्तो सूचना जारी गरेको हो ।

    महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

    दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।

    दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

    परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार