Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुटेरेससँगको भेटपछि सभामुख घिमिरेले भने–संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक चाँडै पारित हुन्छ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग सम्बन्धी विधेयक संसदबाट चाँडै पारित हुने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा घिमिरेले यस्तो बताएका हुन् । दुवै विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा रहेको जानकारी उनले गराए ।

घिमिरेले नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित हुने बताएका छन् ।

‘नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ’ घिमिरेले भने–‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं ।’

नेपालको शान्ति प्रक्रियालाई पूरा गर्न नेपालस्थित राष्ट्र संघीय मिसन (अनमिन)ले खेलेको मध्यस्थताको भूमिकाको पनि उनले गुटेरेससँग प्रशंसा गरेका थिए ।

घिमिरेले भने–‘नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पुर्‍याएको स्मरण गर्दछु । नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन) को मध्यस्थताले ठूलो सहयोग गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077