काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले मंसीर ४ गते सोमबारका लागि पहिलो पेशी तोकेको हो ।
प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।
सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।