Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ईसेवाको कर्मचारी बनेर ५० लाख ठगी, ८५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ईसेवाको कर्मचारी बनेर करिब ५० लाख ठगी गरेको आरोपमा ८५ जना विरुद्ध मुद्दा दायर गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ८५ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

८५ जनाको गिरोहले ईसेवाका ७२ जना प्रयोगकर्ताबाट ४९ लाख १६ हजार ४३३ रुपैयाँ ठगी गरेको पाइएपछि ठगी र संगठित अपराधको कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ईसेवाका कर्मचारी बनेर ठगी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेर गत कात्तिक १२ गते सार्वजनिक गरेको थियो। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो।

काठमाडौंको टोलीले करिब डेढ महिनासम्म गरेको अनुसन्धानमा यो ठगी धन्दामा ८५ जनाको संलग्नता रहेको खुलेपछि उनीहरुलाई विपक्षी बनाउँदै मुद्दा दायर गरिएको हो।

उक्त् प्रकरणमा पाँच जना पक्राउ परेका छन् भने बाँकी ८० जना फरारको सूचीमा छन्। ८० जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

ठगी धन्दा रौतहटको गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका-५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाई नगरपालिका-६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका-५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका-५ बस्ने २१ वर्षीय रितेश कुसवाहा पक्राउ परेका थिए।

उनीहरुले पीडितहरुलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई-सेवाको आईडी, बैंक खातासँग लिंकअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिष्टम भेरिफाई आदि गराउने र ओटीपी नम्बर समेत मागेर उनीहरुको खातामा रहेको रकम झिक्ने गरेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077