Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • व्यवसायीहरूले आलु–प्याजको विक्रीमा हड्ताल गर्दा सरकार किन बेखबर ?

    व्यवसायीहरूले आलु–प्याजको विक्रीमा हड्ताल गर्दा सरकार किन बेखबर ?

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आलु र प्याज जस्तो कच्चा पदार्थमा समेत १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) जोडेर आम उपभोक्तालाई महंगीको भार थपेको सरकार व्यवसायीले आलु प्याज विक्री वितरण रोक्दा समेत कानमा तेल हालेर बसेको छ ।

    व्यवसायीहरुलाई करको दायरामा ल्याउने बहानामा सरकारले आलु र प्याजमा १३ प्रतिशत कर लगाउँदा आम उपभोक्ता मर्कामा परेका छन् । आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर सरकारले स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोड्नु पर्ने भन्दै  दुःख दिइएको व्यवसायीहरुको आरोप छ ।



    व्यवसायीहरुलाई अनिवार्य भ्याटमा जान दबाब दिने र आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनेर सरकारले दोहोरो चरित्र देखाउँदा आफूहरु समस्यामा परेको व्यवासयीहरुले बताएका छन् ।



    भ्याटमा गइसकेपछि स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोड्नुपर्ने हुँदा उपभोक्ताहरुमाथि ठूलो भार थपिने व्यवासयीहरु बताउँछन् ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमा आयातीत आलु प्याजमा मात्रै भ्याट लाग्ने बताएको थियो । यद्यपी अहिले भने आलु प्याज बेच्ने सबै फर्महरुलाई भ्याटमा जान अनिवार्य गर्ने निर्णय भएपछि स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट लाग्ने देखिएको छ ।

    आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार बन्द गरिएको बताए ।

    उनले भने–‘आन्तरिक उत्पादनमै जोडेर भ्याटको कारोबार हेर्न थालेपछि हामी कारोबार नगर्ने अवस्थामा पुगेका हौं। हामीले कारोबार रोकेको नभई व्यापार नगर्ने भनेर आ–आफ्नो कारोबार बन्द गरेका हौं ।’

    आन्तरिक राजस्व कार्यालयबाट भ्याटमा नगएको भन्दै व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने जस्ता कार्य  भएको व्यवसायीहरुको आरोप छ ।

    देशैभरका व्यापारीहरुले आलु र प्याजको कारोबार झण्डै तीन दिनदेखि रोकेको कालीमाटी बजार विकास समितिले जनाएको छ । बजारमा आलु प्याज आयात नभएको र आलु तथा प्याजको स्टलहरु खाली भएको समितिले जनाएको छ । जसका कारण तीनदिनदेखि कालीमाटीमा आलु र प्याज छैन ।

    यद्यपी कालिमाटी बजार विकास समितिले भने आलु प्याज विक्री बन्द हुनुको कारण कार्यालयलाई जानकारी नभएको जनाएको छ । कालीमाटी बजारमा मात्रै आलु र प्याजको कारोबारमा संलग्न करिब २०० थोक विक्रेताहरु छन् । यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि बजारमा आलु र प्याजको बिक्री रोकिएकोबारे जानकारी नभएको बताएको छ ।

    कालिमाटीमात्रै नभई उपत्यका भित्र रहेका सबै बजारमा आलु र प्याजको विक्री वितरण बन्द भएको छ । व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार सुरु भइसकेको छ ।

    चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार