Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालकुमारी घटना : ललितपुरका सीडीओलाई गृह मन्त्रालय र एसएसपीलाई प्रहरी हेडक्वाटर तानियो

काठमाडौं । गृह मन्त्रालयले बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही भएको भन्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।

बालकुमारी घटना भएको दोस्रो दिन गृह मन्त्रालयले शनिबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको हो ।

त्यस्तै गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय हेडक्वार्टर तानेको छ।

उक्त घटनाका सन्दर्भमा छानविन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ ।

छानविन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयले जारी गरेको विज्ञप्तमा जनाइएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका वडा नं ८ बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाउने मृतकप्रति मन्त्रालयले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।

त्यस्तै ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077