Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

साँझको समयमा दैनिक चितुवा देखिन थालेपछि...

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले ती ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए।

‘दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन्। साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरेका छौँ,’ उनले भने।

अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको पनि जानकारी दिए। स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखापरेकाले साँझ र बिहानको झिसमिसे उज्ज्यालोमा सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।

‘बालबालिका बढी मात्रामा चितुवाको आक्रमणमा पर्ने गरेकाले साँझ र बिहानको समयमा बढी चनाखो हुन भनेका छौं,’ उनले भने। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको । चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ। मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ। चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए।

जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ।

‘तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौं। चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ,’ पण्डितले भने । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077