Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रघुनाथको लुगा फेर्दै चोरी धन्दा, यसरी परे प्रहरी फन्दामा

काठमाडौं । चोरी मुद्दामा पटक पटक सजाय भोगिसकेका एक युवक ललितपुरमा पुनः चोरीको अभियोगमै पक्राउ परेका छन्।

दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेतलाई प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराबाट पक्राउ गरेको हो ।

उनले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोप छ। उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ।

रघुनाथ मान्छे नबस्ने, बाहिरबाट ताला लगाएको घर खोजेर चोरी गर्न प्रवेश गर्ने गरेका थिए । उनी घरभित्र प्रवेश गर्दा एउटा लुगा लगाउने र फर्किँदा अर्कै लुगा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भनिमण्‍डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो।

उनले पछिल्लो पटक झम्सिखेलको ठाकुरराज ढकालको घरबाट २७ तोला सुनचाँदीको गहनासहित अन्दाजी ३७ लाख १६ हजार रुपैयाँको धनमाल चोरी गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

त्यस्तै झम्सीखेलकै सुप्रिया राईको कोठाबाट सुनका गहनासहित २४ लाख ७६ हजारको सामान चोरेको प्रहरीको भनाइ छ । बस्नेत यसअघि ९ पटक चोरी मुद्दामा र ३ पटक अभद्र व्यवहार मुद्दामा कारबाही भोगिसकेको व्यक्ति हुन्।

विभिन्न कसुरमा उनलाई १२ वर्ष कैद सजाय भएको पाइएको छ। पछिल्लो पटक २०७७ सालमा दोलखाबाट चोरी कसुरमा मुद्दा चलेको थियो। बस्नेत गत संविधान दिवसमा  राष्ट्रपतिबाट कैद सजाय मिनाहा पाएर छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077