Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६१ केजी सुन तस्करीमा संलग्न भन्सार अधिकृत छुटे, मुख्य नाइकेहरू अझै फरार

काठमाडौँ । ६१ किलो सुन तस्करी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ६ आरोपीलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।

उच्चका न्यायधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले बुधबार कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरुमध्ये पौडेल भन्सार अधिकृत र नेपाली नासु हुन् ।

अदालतले श्रेष्ठ र भट्टबाट जनही एक/एक लाख, पौडेल र नेपालीबाट पाँच/पाँच लाख तथा सुदर्शन गौतम र यादव पराजुलीबाट दुई/दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।

अन्यको हकमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर भएको छ । छुटेका अन्य भन्सार एजेन्ट तथा कार्गो कम्पनीका प्रतिनिधि हुन ।

उच्च अदालतले मुख्य आरोपी दावा छिरिङ, टाँसी भनिने थुप्तिन छिरिङ, शिव कुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राइ, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई भने थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो।

गत साउनमा ’ब्रेक प्याड’मा राखेर अवैधरुपमा तस्करी गरेको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। अनुसन्धानमा उनीहरुले तीन सय ६२ केजी सुन तस्करी गरेको खुलेको थियो ।

यो गिरोहमा संलग्न नाइकेमध्ये एक जीवन चलाउने तथा अमला रोक्का लगायत अझै फरार छन् । सिआइबीले उनीहरुलाई पक्राउको प्रयास गरेको छैन । यो सुन तस्करीमा अन्य उच्च पदस्थ समेत संलग्नता देखिए पनि सिआइबीले त्यसतर्फ अनुसन्धानमा चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077