Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसलाई देशमा संकट छ भन्ने छुट छैन : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले देश सम्हाल्ने काम कांग्रेसको भएको पनि बताए । सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाए । उनले नयाँ दल निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताए ।

कार्यक्रममा थापाले भने–‘अहिले एउटा प्रवृत्ति आएको छ । जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ । जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ । यसले गणेशमान मान्दैन, यसले बिपी कोइराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले २०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो संघर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन ।’

उनले आफू जादुगर हुँ भन्दै आउनेहरुले लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । उनले भने–‘म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिझ्याइँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ ।’

उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए । उनले भने–‘संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077