Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई कमल थापाको साथ !

काठमाडौं । देशमा गणतन्त्र हटाएर पुनः राजसंस्था स्थापना गर्नुपर्ने माग राख्दै विभिन्न खालका आन्दोलन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले साथ दिएका छन् ।

थापाले आज व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका हुन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो ।

शनिवार जनकपुरका सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।

उनले भने–‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिल्कुल सेरेमोनियल । संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ । हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं ।’

उनले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गरे । अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए ।

थापले भने–‘अहिले देशमा धेरै ठूलो संख्यामा गणतन्त्र चाहनेहरु पनि छन् । गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने, परिवर्तनकारीहरुलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको कुरा हामीले गरिरहेका छौं । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा हामीले गरेको हुनाले यो निरंकुश वा कार्यकारी हुने भन्ने त प्रश्नै आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077