Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइए तुरुन्त खबर गर्नू

काठमाडौं । गृह मन्त्रालयले कसैले सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी रुपमा दर्ता गरेको भए सरकारलाई जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

गृहका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीवार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।

मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्व रहेको जग्गाहरू कसैको नाममा दर्ता गरेको वा अतिक्रमण गरेको सूचना पठाउन अनुरोध गरेको छ।

जारी विज्ञप्तिमा भनिएको छ,‘निजी कायम गरी गराई दुरूपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी आदि रूपमा कायम गर्ने प्रयोजनका लागि सो सम्बन्धी सत्य तथ्य सूचना सहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउनू ।’

जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नका लागि सरोकारवाला निकायसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउन गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको छ।

सरकारी वा सार्वजनिक जग्गा दुरूपयोग गरी दर्ता श्रेष्ता कायम गर्ने गरी निर्णय गरेको, सो को आधारमा दाखिल खारेज गरेको, हक स्वामित्व कायम गरेको, त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको लगायत जुनसुकै प्रकारको गैर कानुनी काम गर्नेलाई कारबाही गर्न सूचना दिन माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077