Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाटो निर्माणमा १० लाख भ्रष्टाचार, चंखेलीका पूर्वअध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले विशेष अदालतमा चंखेली गाउँपालिकाका पूर्वअध्यक्ष धनलाल चौलागाईसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूले १० लाख २९ हजार ३२५ रुपैयाँ बिगो दाबी गरेको छ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, असिस्टेन्ट सबइन्जिनियर अजबहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा, सचिव हंशबहादुर ऐडी र चंखेली–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन्।

उनीहरू सबैसँग १० लाख २९ हजार ३२५ रुपैयाँ बिगो दाबी गरिएको छ। चंखेली–३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा चंखेली–३ स्थित मेलादेखि बासलधारासम्म काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्यांकनसहित नापी किताब तयार गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

झुटो बिल भर्पाई तथा नक्कली कागजातलाई आधार मानी १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077