Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाशिवरात्रिको शुभकामना दिँदै राष्ट्रपतिले भने - आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा महाशिवरात्रि पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

'महाशिवरात्रिको पावन अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वद्र्धन गर्न प्रण गर्नुपर्दछ,' राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, 'पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि आजको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु ।'

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, 'निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्रि पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।'

वैदिक परम्परामा शिवलाई मूलतः सम्हारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् ।

सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवं सुन्दरम’ प्राचीन लोकोक्तिका रूपमा रहेको तथा रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ भन्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077