Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छिन् । दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्किएकी थिइन् ।

दैलेखको भगवतीमाई गाउँपालिका–३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो । उनका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन । अहिले उनी ‘ड्युटी’ जाँदा पनि निर्धक्क भएर जान्छिन् ।

गणभित्रै शिशु हेरचाह गर्ने स्याहार गृह स्थापना भएपछि काम गर्न सुकुमालाई थप हौसला मिलेको छ ।

'एउटा आमालाई चिन्ता भनेकै सन्तानको लाग्छ, एक छिन आफ्नो शिशु नहेर्दा मन बेचेन हुन्छ, सुरु–सुरुमा ड्युटीमा जाँदा नानीको खुबै चिन्ता लाग्थ्यो, अहिले ढुक्क छु,' उनले भनिन्, 'अहिले गणभित्रै ड्युटी गर्नुपर्ने भएकाले नानीलाई हेर्दै काम गर्न पनि सहज भएको छ, छिनछिनमै नानीलाई खेलाउन आउँछु, आफ्नोसँगै अरूका शिशुहरु पालैपालो हेर्ने काम गर्छौं ।'

उनी आफूमात्र होइन अहिले अरू महिलाका शिशुको स्याहार गर्ने काम गर्छिन् । 'आफ्नोसँगै अरूका शिशु पनि हेर्ने काम गर्छौं, पालैपालो ड्युटीमा खटिएका छौँ, पहिला धेरै आमाले ड्युटी गर्दै शिशु हेर्नु पथ्र्यो, आमाहरू ड्युटीमा खटिँदा शिशु माटोमा खेल्थे, रोग लाग्छ कि भन्ने पीरले सताउँथ्यो,' उनले भनिन्, 'गणभित्रै शिुशु स्याहार गृह बनेपछि धेरै आमालाई सहज भएको छ, हामी आफ्ना मात्र होइन आफ्ना बच्चासँगै अरूका बच्चालाई खेलाउने काम गर्छौं ।'

बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वार्टर वागिश्वरीमा रहेको शिशु स्याहार गृह स्थापना भएसँगै अहिले धेरै आमालाई ड्युटी गर्दै आफूसँग आफ्ना शिशु हुर्काउन सहज भएको छ ।

शिशु स्याहार केन्द्रमा ३२ शिशु छन् । एक वर्षमुनिका १५ र एक वर्षमाथिका नौ छन् । शिशु स्याहार केन्द्रमा ‘र्‍याम’ सिकाउने, चित्र चिनाउने कौशल, शिशुलाई भुलाउने गरिएको छ ।

ड्युटीमा खटिँदा आमा कर्मचारीलाई निकै समस्या हुन्छ । त्यही समस्यालाई दृष्टिगत गरेर गणभित्रै आफ्नो शिशु खेलाउँदै हेर्दै ड्युटी गर्न सहज होस् भनेर शिशु स्याहार केन्द्र सञ्चालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताए ।

आमा बनेका प्रत्येक महिला कर्मचारीलाई बच्चाको उमेर दुई वर्षको नहुँदासम्म गण बाहिर ड्युटीमा नपठाइने गरिएको छ । गणमा ४५ महिला प्रहरी कर्मचारी कार्यरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077