Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ अर्ब डुबाउने कान्तिपुर सहकारीमाथि सिआइबीले किन गरेन अनुसन्धान ?

काठमाडौं । ठूलो सहकारी ठगीमध्ये एक काठमाडौंको मिनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारीले गरेको ठगी पनि एक हो । जून सहकारीले सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ डुबाएको छ ।

तर, प्रहरीले फितलो अनुसन्धान गरी मुद्दा दायर गर्दा पीडितहरू झन् अन्यायमा परेका छन् । संस्थाका अध्यक्ष हिमालयन बिक्रम मल्ल ठकुरीलाई पक्राउ गरी बानेश्वर वृत्तले आइतबार मुद्दा दायर गरेको हो ।

संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो मात्र कायम गरी सहकारी ठगीको मुद्दा दायर भएको छ । धेरै बचतकर्ताले जानकारी नहुँदा जाहेरी दिन समेत पाएनन् ।

पूर्व अध्यक्ष सिबी लामासहित सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलियालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।

सुरुमा सो सहकारीमाथि अनुसन्धान गर्न सहकारी विभागले सिआइबीलाई पत्राचार गरेको थियो । तर, सिआइबीले दबाबको कारण अनुसन्धानमा ढिलाइ ग¥यो । यो बीचमा सिबी लामा लगायत केही सञ्चालकले आफ्नो सम्पत्ति बेच्न भ्याए । त्यसपछि पनि सिआइबीले अनुसन्धानमा चासो दिएन ।

पछि बानेश्वर वृत्तबाट अनुसन्धान अघि बढाइएको थियो । सामान्यतया सिआइबीले हेरिरहेको अवस्थामा स्थानीय प्रहरीले अनुसन्धान गर्दैन । तर, यती ठूलो घटनामा वृत्तलाई अनुसन्धानको जिम्मेवारी दिइयो ।

वानेश्वर वृत्तले जाहेरी लिने बाहेक थप अनुसन्धान नै नगरेको मिसिलबाट देखिन्छ । कतिसम्म भने सञ्चालकहरूको सम्पत्ति रोक्का समेत राख्न पत्राचार भएको छैन । संस्थाका प्रबन्धक सुवास श्रेष्ठलाई ठेगाना नखुलेको भनेर मुद्दा दायर गरेको छैन ।

संस्थाका प्रबन्धकको ठेगाना समेत पत्ता लगाउन नसक्नुले अनुसन्धानमा चलखेल भएको आशंका गरिएको छ । साथै, संस्थाका अन्य पूर्व सञ्चालकको भूमिकामाथि समेत विस्तृत अनुसन्धान नगरी प्रहरीले मुद्दा दायर गरेको छ ।

संस्थाका पूर्व अध्यक्ष सिबी लामाले एक अर्बभन्दा धेरै रकम लिएर नतिरेको हालका अध्यक्ष ठकुरीले बयानको क्रममा बताएका छन् । लामाले घरजग्गादेखि रिसोर्टसम्म सो रकम लगानी गरेका छन् ।

धेरै कम्पनीको शेयर उनले गोप्य रूपमा बिक्री गरिसकेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका उनले पावरकै भरमा प्रहरीको अनुसन्धान प्रभावित पारेको पीडितहरु बताउँछन् ।

उनले पशुपति सहकारी पनि डुबाएका छन् । त्यहाँ पनि सर्वसाधारणको एक अर्बभन्दा धेरै डुबेको छ । सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077