Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय सरकारले गर्न लागेको स्रोतले बतायो ।

डिल्ली आचार्य नेतृत्वको आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो। छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरबाही र दोषीलाई उम्काउने खेल भएको पाइएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको उल्लेख गरेको छ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्वप्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले सीआईबी प्रमुख  बज्राचार्यसहित चार प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

जीवन चलाउनेलाई भगाएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077