Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयल निगमका तत्कालिन निर्देशक खड्काविरुद्धको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्कालाई पर्याप्त सजाय नभएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

अख्तियारले मागदाबी गरे अनुसार सजाय र जरिवाना नभएको भन्दै विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो।  विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा १५ असार, २०८० मा खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला गरेको थियो ।

अख्तियारले २३ पुस २०७५ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो ।

मागदाबी अनुसार सजाय नगरी करिव आधा मात्रै सजाय भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो । अख्तियारले खड्कामाथि शर्मिला खड्का र अंकिता लामाको नाममा समेत सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।

विशेष अदालतले त्यसलाई आंशिक रुपमा ठहर गर्दै उनीहरुको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्नु भनी आदेश दिएको छ । अख्तियारले खड्का र लामाविरुद्ध पनि पुनरावेदन दर्ता गर्दै आफ्नो मागदावी अनुसार सजाय हुनुपर्ने भनेको छ ।

अख्तियारको अनुसन्धानका क्रममा खड्कासँग २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति पाइएको थियो, जसमध्ये ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँमात्रै उनको वैध आम्दानी थियो ।

आयल निगमको कार्यकारी निर्देशक भएपछिको ६ महिनामा मात्रै उनीमाथि ७ करोड ४४ लाख आर्जन गरेको आरोप थियो । खड्काले पुर्ख्यौली बाहेक ३ वटा घर निर्माण र खरिद गरेको अख्तियारको अनुसन्धानका क्रममा फेला परेको थियो ।

उनले २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएका थिए । उनले विभिन्न ठाउमा ११ कित्ता जग्गा किनेको भेटिएको थियो । आयल निगमको कार्यकारी निर्देशक हुँदा भएको जग्गा खरिद प्रकरणमा पनि खड्काविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077