Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शाखा अधिकृतको तीन करोड २१ लाख अवैध सम्पत्ति, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध मुद्दा दायर गरेको हो ।

कार्कीविरुद्ध तीन करोड तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

कार्की सार्वजनिक सेवा प्रवेश गरेको अवधि (२०५८/०४/१६-२०७९/१२/३०)सम्मको आय-व्ययको विश्लेषण गर्दा कुल आम्दानी तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेकोमा कुल ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको छ ।

त्यसमध्ये तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैंयाको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर गर्ने प्रयोजनका लागि मात्र निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

कार्कीले छोरी गृष्मा कार्कीको नाममा समेत विभिन्न स्थानमा जग्गा जोडेको देखिएकाले उनको नामको जग्गा पनि जफत गर्नुपर्ने अख्तियारले दाबी गरेको छ । अख्तियारले उनकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077