Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अब हतियारको इजाजत दिने नीति परिमार्जन गरौं : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले हतियारको इजाजत दिने नीति परिमार्जन गर्न माग गरेका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन्। सांसद पन्तले लाइसेन्स लिएर राखिएका हतियारको दूरुपयोग भयो भने को जिम्मेवार हुन्छ भन्दै प्रश्न गरे ।

उनले सयौं गोली बोकेर हिँड्ने हतियार राख्न दिँदा सार्वजनिक र राष्ट्रिय सुरक्षा कमजोर हुने तर्क गरे।

गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै सांसद पन्तले प्रश्न गरे,‘लाइसेन्स लिएर क-कसले हतियार राखेका छन्, के कति छन् ? कति हजारको संख्यामा छन्, रेकर्ड छ/ छैन ? हतियार फिर्ता लिनुपर्ने आवश्यकता ठान्नुभएको छ कि छैन ? दुर्गा प्रसाईंलाई जुन प्रकारको हतियार कसरी दिइयो, त्यो प्रकारका हतियार हेर्दा तपाईंहरुले हतियार दिने कानुन पनि फेर्नुपर्छ लागेको छ कि छैन ? अब त, हतियार दिने नीति पुनर्विचार र परिमार्जन गर्नुपर्‍यो। गृह मन्त्रालयको सोच के हो ? दिएको छ भने फिर्ता लिने र नीति परिमार्जन गर्ने सोच छ कि छैन ?’

राज्यले जनतालाई सुरक्षा दिनुपर्ने भन्दै सांसद पन्तले व्यक्तिगतरुपमा हतियार बोक्नु नपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले गृहमन्त्रीलाई गुप्तचर संस्थालाई बलियो बनाउन आग्रह गरे।

पन्तले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई अनुमति नै नभएको हतियार राख्न कसरी दिइयो भन्दै गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरे ।

उनले हतियार नियमन गर्न नसकेकै कारण संसारका विभिन्न मुलुकमा ठुला हत्याकाण्ड भएको भन्दै त्यस्ता हतियार कतिलाई दिइएको छ भन्दै प्रश्न गरे ।

दुर्गा प्रसाईँलाई दिएको हतियार हेर्दा हतियार दिने व्यवस्थामा पुन बिचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077