Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्न दिएको इजाजतबारे छानबिन गर्न समिति बनाएको छ।

गृह मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको हो। समितिमा मन्त्रालयकै कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उसपसचिव एकदेव अधिकारी सदस्य छन्।

जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको छ।

यस्तै, व्यक्तिगत रूपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने पनि भनिएको छ।

हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र त्यससँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्ने पनि कार्यादेशमा रहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न त्यसको अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने, हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने र यी विषयमा राय सुझावसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिएको छ।

गत चैत ५ गते हतियार लिएर प्रवेश गर्न खोजेपछि प्रहरीले प्रसाईंका सुरक्षा गार्ड भनिएका दीपक खड्का र राजकुमार धिमाललाई पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले चैत १३ गते खड्का र धिमालले अनुमति प्राप्त हतियार बोकेकाले रिहा गर्न आदेश दिएको थियो।सँगै अदालतले इजाजत जारी र नवीकरण भएको विषयमा छानबिन गर्न पनि आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077