Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद अमरेश सिंहले भने - अख्तियार राजनीतिक प्रतिशोधको औजार बनेको छ

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोग खारेज गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले अख्तियार राजनीतिक प्रतिशोधको औजार बनेको भन्दै खारेज गर्न माग गरेका हुन्।

उनले सरकार र राजनीतिक दलको रवैयाका कारण कर्मचारीले काम गर्न छोडेको बताए। अख्तियारले भ्रष्टाचार मुद्दामा नेता,मन्त्री,प्रधानमन्त्रीलाई छुन नसकेको सांसद सिंहको आरोप छ।

राजनीतिक दलका नेताहरूले भ्रष्टाचार गरेपनि त्यसको मारमा कर्मचारीहरू पर्ने गरेको भन्दै अख्तियारको काम नभएको उनको भनाइ छ।

सांसद सिंहले भने,'यो देशमा अख्तियार बन्द गर्नुपर्छ । किन भने यहाँ एउटा सदनबाट ऐन पास गर्नु पर्‍यो कि जतिसुकै ठूला भ्रष्टाचार हुन् या साना भ्रष्टाचार किन नहोस् । त्यसमा नेता र मन्त्रीहरूलाई छुनु हुँदैन। अरबौंको भ्रष्टाचार कर्मचारीको हैसियतले हुनैसक्दैन। सरकार र राजनीतिक दलका रवैयाका कारण कर्मचारीले काम गर्न छोडिसकेका छन्। भ्रष्टाचार गर्ने नेता,मन्त्री ,प्रधानमन्त्री तर मुद्दा लाग्ने कर्मचारी यो अख्तियार दलको भागबण्डाबाट बनेको छ। '

उनले भ्रष्टाचार मु्द्दामा अदालतले पनि नेताहरूलाई छुन नसकेको आरोप लगाए।

प्रधानमन्त्रीले मन्त्रीलाई नै लुट्नका लागि लाइसेन्स दिने गरेको बताउँदै उनले यो ढंगले देश अगाडि बढ्न नसक्ने बताए। राजनीतिक दलका कारण नेपाल कानुनी राज्यको उपहास बनेको उनको भनाइ छ।

सांसद सिंहले सरकारप्रति जनताको विश्वास घट्दै गएको दावी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077