Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबी प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो ।

एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो । यो दर बजार मूल्यमा आधारित हो ।

केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।

चालु आव धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडीबीले जनाएको छ । निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने उसको भनाइ छ ।

एडीबीका अनुसार पर्यटक आगमनले सकारात्मक प्रभाव पारिरहेको छ । यसले रोजगारीमा समेत ठूलो योगदान गर्छ । एडीबीले भारतको आर्थिक वृद्धि दर ७ प्रतिशत हुने अनुमान गरेको छ ।

एडीबी आउटलुक अनुसार कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिने छ । धान उत्पादन वृद्धि भए पनि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि २०७९/८० को २.७ प्रतिशतको दाँजोमा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने छ ।

त्यसैगरी पेट्रोलियम पदार्थ मूल्यमा देखिएको गिरावट र भारतमा महँगी न्यूनीकरणसँगै नेपालमा औसत महँगी गत आर्थिक वर्ष ७.७ प्रतिशतको दाँजोमा चालु आव ६.५ प्रतिशतमा ओर्लने प्रक्षेपण एडीबीको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077