Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विकल पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा लुकाएको अभियोगपत्रमा दाबी गरेको छ।

विशेष अदालतका अनुसार उनीविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको हो ।

उनको वैध आय भने २ करोड १ लाख ४३ हजार ४८८ रुपैयाँ मात्र रहेको अभियोगपत्रमा उल्लेख छ ।

पौडेल मंगलबारमात्रै सुरक्षण मुद्रण केन्द्रकालागि उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो ।

विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो । पौडेलविरुद्ध भ्रष्टाचारका दुई वटा मुद्धा विशेष अदालतमा विचाराधीन छन् ।

अख्तियारले सुरक्षण मुद्रणकै अन्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत सातामात्रै पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

वैशाख पहिलो साता अख्तियारले नै उनीविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेकै बखत् ढाँटेर सार्वजनिक पदधारण गरेको कसूरमा विशेष दालतमै मुद्दा दायर गरेको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोडभन्दा बढी अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा ४ जनालाई कैद सजाय र जरिवाना तथा ५ जनालाई सफाइ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077