Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मोदीसँग भएको कुराकानी प्रधानमन्त्री प्रचण्डले संसदमा जानकारी गराउनुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानी जान्न पाउने संसद्को विशेषाधिकार भएकोले आजै जानकारी गराउन सभामुखको ध्यानाकर्षण गराए।

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले मोदीसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किएका थिए।

सांसद पन्तले भने,‘भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छ, त्यसैले सभामुखबाट आज रूलिङ हुनुपर्छ, प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ संसद हो, भारतीय प्रधानमन्त्रीसँग उहाँको के-के विषयमा कुराकानी भयो त्यो बाहिर अखबारमा भन्नुभयो ठिकै छ, संसदलाई सम्मान गर्ने हो भने आजै उहाँले संसदमा आएर भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रूपमा जानकारी दिनुपर्थ्यो।’

नेपाल र भारतका बीचमा विद्यमान रहेका समस्याहरू समाधान गर्न के-के विषयमा ठोस कुराकानी भएको हो भन्नेबारे प्रधानमन्त्री दाहालले संसदलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

विदेश भ्रमणबाट फर्केपछि संसद्लाई प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहेको र संसद्लाई सम्मान गर्ने हो भने आजै संसद्‌मा जानकारीका लागि सभामुखले निर्देशन दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077