Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सांसद आरजु भन्छिन् - व्यापारिक घरानालाई फाइदा हुने गरी बजेट ल्याइयो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले व्यापारिक घरानालाई कर छल्ने बाटो राखेर बजेटमा व्यवस्था गरिएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राणाले यस्तो आरोप लगाएकी हुन् ।

उनले सरकारले ल्याएको बजेटमा निश्चित व्यापारिक घराना वा व्यापारीलाई फाइदा पुर्‍याउने व्यवस्था राखिएको बताईन् ।

सांसद राणाले कुन व्यापारिक घरानालाई फाइदा पुग्ने व्यवस्था राखिएको छ भन्ने कुरा भने उल्लेख गरिनन् ।

सांसद राणाले भनिन्,'आय कर ऐन को धारा ५६ (१) को प्रस्तावित प्रावधानमा मैले कुनै आर्थिक वा प्रशासनिक तर्क देख्न सकेको छैन । यदि उक्त दफामा कुनै समस्या छ भने हामीले नियम र निर्देशिकामार्फत सच्याउन सक्थ्यौं । यसको सट्टा, उक्त दफा नै संशोधन गर्ने प्रस्ताव गरेर निहीत स्वार्थ पूरा गर्न खोजेको शंका गर्न सकिन्छ ।'

सांसद राणाले आधुनिक अर्थशास्त्रीहरूले करमा तटस्थता, दक्षता, निश्चितता र सरलता, प्रभावकारिता र निष्पक्षता एवं लचिलोपनका सिद्धान्तहरू प्रतिवादित गरेको उल्लेख गर्दै सरकारको बजेट भने करका यी कुनै सिद्धान्तसँग मेल नखाने गरी आएको बताइन् ।

सांसद राणाले अग्रिम आयकरको प्रावधानले आयातकर्ताहरूलाई सुनिश्चित आयबिना आयातको समयमा कर तिर्न बाध्य पार्ने बताइन् ।

कारोबार मूल्यमा १० प्रतिशत कर तिर्न व्यापारीले न्यूनतम ४० प्रतिशत नाफा कमाउनु पर्ने बताउँदै उनले त्यसको अर्थ यी अति आवश्यक वस्तुहरूको मूल्य कम्तीमा ४० प्रतिशतभन्दा बढीले बढ्न सक्नेतर्फ पनि ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077