Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन पगाल्न प्रयोग गरेको फ्ल्याटमा प्रहरीको छापा, ५० लाखसहित पाँच जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले सुनका गरगहाना, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा एक भारतीय नागरिकको फ्‍ल्याटमा छापा मारेर प्रहरीले उक्त सामान बरामद गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार छन् ।

उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो ।

उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077