Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रविलाई योगेश भट्टराईले सोध - प्रधानमन्त्रीले प्वाल पारेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ ?

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ताको खेलमा लिप्त रहेका बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

संविधान जारी भएको ८ वर्षभित्र प्रचण्डले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण उनको स्वभाव बुझ्नै गाह्रो भएको सांसद भट्टराईले बताए ।

उनले विगतदेखि नै देशलाई अप्ठेरो परेका बेला एमाले र कांग्रेस मिलेर निकास दिने गरेको भन्दै यसपटक पनि प्रचण्डको चालबाजी शेरबहादुर देउवा र केपी शर्मा ओली मिलेर असफल बनाएको दाबी गरे ।

सांसद भट्टराईले अब कांग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताए ।

त्यस्तै, सांसद भट्टराईले रास्वपालाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हो भन्ने प्रश्न गरेका छन्।

सांसद भट्टराईले भने,‘म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भन्न चाहन्छु, तपाईंहरु उतै (सत्तापक्ष) मा बस्नुभएको छ। यो उहाँहरूको इच्छा हो, हामीलाई केही भन्नु छैन। तर प्रधानमन्त्री प्रचण्डले प्वाल पारिसकेको डुंगामा बसिरहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ, सोच्नुहोला।’

सांसद भट्टराईले अल्पमतमा परिसकेको प्रधानमन्त्रीले केका लागि असार २८ गते विश्वास मत लिने भन्ने प्रश्न पनि गरे।

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभामा विश्वास मत घट्दो क्रममा रहेको पनि भट्टराईले बताए। भट्टराईले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077