Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१८ वर्षमा २२ प्रतिशत काम, कहिले पूरा हुन्छ महाकाली आयोजना ?

काठमाडौं । महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति अहिलेसम्म जम्मा २२ प्रतिशत मात्रै भएको छ । १८ वर्षअघि शुरु भएको आयोजनाले निर्माण कार्यमा गति लिन नसक्दा आयोजना पूरा हुनेमै आशंका उब्जिएको छ ।

विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ ।

३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ।

हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन्। अठ्ठाइस किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन।

महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताए।

उक्त कुरा माथिल्लो निकायमा जानकारी गराए पनि भारतसँग कुरा हुन नसकेको उनले बताए ।

डिभिजनल इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ। २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ।

यो वर्ष पनि आयोजनाका लागि दुई अर्ब रुपैयाँ बजेट आएको छ । जुन अत्यन्त कम भएको सुवदी दावी गर्छन् । सरकारले मुआब्जा विवाद समाधान गर्ने, पर्याप्त बजेट दिने र वनक्षेत्रका व्यवधान हटाएमा निर्धारित समयमा नहर निर्माण गर्न सकिने सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077