Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पशुपति कोटिहोम : राधिका दासी र देवि प्रतिभापछि बायोलोजीकी विद्यार्थी चन्द्रकला शखीको चर्चा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा जारी कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला शखीले आजबाट कथावाचन शुरु गरेकी छन् । लन्डनबाट हिजो आएकी उनलाई आज महायज्ञस्थलमा भव्य स्वागत गरिएको थियो ।

सात समुद्र पार गरेर आएकी कलिलो उमेरकी कथावाचिका मधुर मुस्कानसहित व्यासमा उक्लिँदै गर्दा भक्तजनहरुले उत्साहित बनेका थिए । ।

मिठो आवाजमा राम भजन गाउँदै आफ्नो प्रस्तुति सुरु गरेकी उनले त्यसपछि भगवानको जयगान गुञ्जाइन् र रामकथा वाचन शुरु गरिन् ।

उनले आफू विज्ञानको विद्यार्थी भएको भन्दै कुनै विदुषी वा विद्वान नसम्झिन आग्रह समेत गरिन् ।

आफ्नो प्रस्तुतीको क्रममा उनले भनिन्–‘मैले धेरै देशहरुको भ्रमण गरेँ । तर, यहाँको जस्तो महान संस्कार, संस्कृति अन्य कतै पाइनँ प्रिय भक्तजनहरु । यहाँको जस्तो प्रेम, सद्भाव, आमा–बुवा, एक–आपसमा भाइचारा अन्य कुनै राष्ट्रमा देखिनँ । त्यसैले हाम्रो नेपाल राष्ट्र महान र बन्दनायोग्य छ ।’

‘आफ्नो मातृभूमिमा भएको यस्तो दिव्य आयोजनामा म यहाँ नआइकन बस्न सकिनँ । हजुरहरुको प्रेमले यहाँ आएको हुँ । प्रिय भक्तजन, म आफूलाई कुनै विदुषी ठान्दिनँ । म कुनै विद्वान पनि होइन । म त सामान्य भौतिक शिक्षा अन्तर्गत बायोलोजीको विद्यार्थी हुँ । मैले बाल्य अवस्थादेखि नै सन्त सद्गुरुदेवको कृपा प्राप्त गरको छु । श्रीराम जन्मभूमि तिर्थक्षेत्रका अध्यक्ष अनन्त श्रीविभुषित नित्यगोपाल दासी महाराजजी गुरुदेवको कृपा प्राप्त गरेको छु ।’ उनले थप भनिन् ।

उहाँकै कृपाप्राप्त जगतगुरु रामानन्दाचार्य, जगतगुरु महायोगी सिद्दबाबा गुरुदेव भगवानको कृपा आशीर्वादले नेपालमा उपस्थित भएको बताएकी उनले जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ? भन्दै प्रश्न गरिन् । उनले भगवान शिवको परिवारमा सिंह, नन्दि, मयुर, सर्प र मुसा मिलेर बसेझै अनेकौं जातजाती भएको हाम्रो देशमा सबै मिलेर बस्नुपर्ने बताइन् ।

कोटीहोममा राधिका दासी र भारतबाट आएकी नेपाली चेली देवि प्रतिभाले आफ्नो प्रवचन सकिसकेका छन् । प्रवचनका क्रममा दुबैजनाको चर्चा उत्तिकै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077