काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ ।
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जाँदै छन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।