चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन अगाडि हुने गठबन्धनका कारण कांग्रेसले धेरै पीडा भोग्नुपरेको बताएका छन्।
कांग्रेसको चितवन जिल्ला समितिले १११औं बीपी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले कांग्रेसलाई चुनाव अगाडिको गठबन्धनबाट बाहिर निकाल्न कांग्रेस चितवनले पीडासँगै प्रेरणासमेत दिएको बताए।
चितवनमा कांग्रेसले उठाएको आवाज नै पार्टीको महासमिति बैठकबाट औपचारिक दस्ताबेज बन्न सकेको महामन्त्री थापाले बताए।
कांग्रेसले आगामी निर्वाचनमा आफ्नो चुनाव चिह्नबाहेक अरुमा भोट हाल्न नलगाउने पनि महामन्त्री थापाले बताए।
आगामी निर्वाचन एक्लै लड्ने भएपछि सोही अनुसारको पार्टी संगठन बनाउन लाग्नुपर्ने उनको भनाई छ ।