Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नवरात्रको सातौँ दिन : दसैं घरमा फूलपाती भित्र्याएर नवदुर्गाको पूजा अर्चना गरिँदै

नवरात्रको सातौँ दिन : दसैं घरमा फूलपाती भित्र्याएर नवदुर्गाको पूजा अर्चना गरिँदै

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । नवरात्रको साँतौ दिन आज आश्विन शुक्ल सप्तमी । आजका दिन घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका सहायक मानिन्छन् । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताए। यस्तै, हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077