चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि यातायात पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
बुधबार राति करिब ९ बजे अचानक खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। अवरुद्ध हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका थिए भने यात्रुहरूले रातभर सास्ती भोग्नुपरेको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार रातभर डोजर तथा प्राविधिक टोली परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो। सडकमा थुप्रिएको माटो, ढुङ्गा र गेग्रान हटाएपछि बिहीबार बिहानदेखि सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको हो।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो हटाएर आवागमन सुचारु गरिएको जानकारी दिँदै वर्षायामका कारण तुइनखोला क्षेत्रमा अझै जोखिम कायमै रहेको बताए। उनका अनुसार उक्त क्षेत्रका भीरबाट बेलाबेलामा ढुङ्गा खस्ने र पहिरो जाने सम्भावना रहने भएकाले निरन्तर निगरानी भइरहेको छ।
सम्बन्धित निकायले जोखिमयुक्त खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन तथा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक र यात्रुलाई आग्रह गरेको छ।