Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरले दियो सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य

जनकपुरले दियो सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटीङ् गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो।

जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए।

मिलन्थालाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा एलबिडब्लू धरापमा पारेका थिए। कप्तान आसिफ छैटौं ओभरमा सइफ जइबबाट बोल्ड भए।

शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे। उनी नवौं ओभरको अन्तिम बलमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत रनआउट भएका थिए। हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके।

थाकर १३औं ओभरमा जइबको बलमा ब्रेन्डन माक्मलेनबाट क्याच भएका थिए। १६औं ओभर चल्दै गर्दा अरनिको दीपेन्द्रबाट एलबिडब्लू आउँदा हुँदा जनकपुरले ५ विकेट गुमाउँदा ९७ रन जोड्न सकेको थियो।

१८औं ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई दीपेन्द्रले ३ रनमा बोल्ड गरे। त्यसअघि दीपेन्द्रलाई ओभरको तेस्रो र चौथो बलमा निशमले लगातार दुई छक्का प्रहार गरेका थिए।

निशम कुगेलेइनबाट बोल्ड भए। शेर मल्ल अन्तिम ओभरको पहिलो बलमा अभिनास बोहराको बलमा ३ रनमा क्याच भए।बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए।

सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १-१ विकेट हात पारे। यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077