काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको आधार कृषि बन्न सक्ने बताएका छन् ।
अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुुन् । उनले समाजवाद निर्माणको मुख्य आधार कृषि भएको बताए ।
कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले भने, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन हो । र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार हो ।’
प्रचण्डले कृषिमा जोड दिँदा मात्रै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासको आधार पनि बन्न सक्ने बताए ।
अध्यक्ष प्रचण्डले निजीकरण र उदारीकरणका नाममा दलाल, नोकरशाही, पुँजीपति र बिचौलियाले राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको बताए ।