Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गुणस्तरमा ठेकेदारहरुको सेटिङ, नेपाल प्रहरी र सशस्त्रका लत्ताकपडा गुणस्तरहीन !

गुणस्तरमा ठेकेदारहरुको सेटिङ, नेपाल प्रहरी र सशस्त्रका लत्ताकपडा गुणस्तरहीन !

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । नेपाल प्रहरीले हरेक बर्ष चुस्ता र पोशाकदेखि जुत्तासम्मका आवश्यक बन्दोबस्तीका सामान खरिद गर्दैआएको छ । प्रहरीले खरिद गरेका चुस्ता, लत्ताकपडा र जुत्ता जस्ता सामान गुणस्तरहीन भएको, एकाध पटक धोएपछि खुइलिने गरेको गुनासाहरु आउने गरेका छन् ।

विगतमा रविन्द्रप्रताप शाह आईजीपी र प्रतापसिंह थापा आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको प्रमुख डीआईजी हुँदा पनि प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको बिषय उठेको थियो ।

प्रहरीमा सामान आपूर्तिको ठेक्का पाएका ठेकेदारहरुले गुणस्तर परीक्षणका क्रममा सेटिङ गरी नमूना पास गराउने गरेको आरोप छ । ठेकेदारले गुणस्तर तथा नापतौल बिभागका प्राविधिक उपसचिव (सी.डी.के.) किरण सुवेदीमार्फत् गुणस्तर परीक्षणमै सेटिङ गर्ने गरेका छन् ।

उपसचिव सुवेदी करिब १० बर्षदेखि गुणस्तर बिभागमा हर्ताकर्ता छन् । यसअघिका महानिर्देशक रामआधार साह, बिश्वबाबु पुडासैनी, दिनानाथ मिश्र र हालकी कुमारी ज्योति जोशी भट्टको कार्यकालमा पनि उनी बिभागमा प्रहरीदेखि सशस्त्रको सामान गुणस्तर परीक्षण गर्दैआएका छन् ।

गुणस्तर परीक्षण गर्ने निकायमा बर्षाैदेखि सुवेदीसहितका कर्मचारी कार्यरत छन् भने प्रहरी र सशस्त्र प्रहरी बलमा सामान आपूर्ति गर्ने ठेकेदार पनि बर्षौदेखि एउटै छन् । ठेकेदार र उपसचिव सुवेदीको सेटिङमा नमूना पास हुँदैआएको छ । सुवेदीले नै सशस्त्रको र नेपाल प्रहरीको गुणस्तर परीक्षणमा पठाइएका नमूना सेटिङमा पास गराउने गरेको आरोप छ ।

स्रोतका अनुसार प्रहरी र सशस्त्रमा सबैभन्दा बढी गुनासो जुत्ता, ऊलन सर्ट, पाइन्ट, चुस्ता र स्वेटरमा आएको छ । प्रहरीलाई दिइएको स्वेटर, ट्रयाकसुट, ऊलन पाइन्ट, ऊलन सर्टमा भुवा आउने गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाश हुँदैछन् । उनलाई समेत गुमराहमा पारी प्रबन्ध निर्देशनालयका एसपी गोविन्द पुरीले ठेकेदार र गुणस्तर बिभागका कर्मचारीलाई सेटिङमा सहजीकरण गरी लाभ लिने गरेका छन् ।

ठेकेदारहरुले ऊलन पाइन्ट र सर्टका केही रोल राम्रो लाने र त्यहीँबाट गुणस्तरमा पठाउने कार्यमा प्रबन्धका एसपी र भण्डारका डीएसपीले गर्दैआएका छन् । ५० रोल कपडा छ भने १० रोल राम्रो लाने र ४० रोल कमसल लगिन्छ । गुणस्तरमा पठाउँदा १० रोलमध्येबाट झिकेर पठाउने गरिएको छ ।

सामान आपूर्ति गरिएपछि तोकिएको गुणस्तर अनुसार भए नभएको अनुगमन गर्ने कार्य प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी वा एसएसपीको संयोजकत्वको समितिले गर्नुपर्छ । सबभन्दा ठूलो सेटिङ भण्डारको डीएसपी र आईजीपी सचिवालयको प्रमुखको हुने गरेको स्रोत बताउँछ । बिगत २ बर्षदेखि ठेकेदारसँगको सेटिङमा मुख्य भूमिका प्रबन्धका पुरीको रहँदैआएको छ ।

गुणस्तरमा सेटिङ गरी गुणस्तरहीन कपडा आपूर्ति गर्ने क्रम बढेको छ । दुई पटक धोएर सुकाएपछि प्रहरीका कपडा किन खुइलिन्छन् ? सेनाका किन खुइँलिदैनन् ? यो प्रश्न ज्वलन्त छ । नेपाल प्रहरीका ५ जना सडकमा ड्युटी बसेका सिपाहीकै पोशाक एउटै देखिनुपर्नेमा ५ थरी देखिने गरेको गुनासो छ ।

स्रोतका अनुसार खरिदको कमिसन आईजीपी, शान्ति सुरक्षा महाशाखाको प्रमुख, गृहसचिव र गृहमन्त्रीदेखि बालुवाटारसम्म पुग्ने गरेकाले गुणस्तरहीन सामान खरिद हुने गरेको छ ।

सेनाको कपडामा कहिल्यै गुनासो आएको पाइँदैन । तर प्रहरी र सशस्त्र प्रहरीको ब्यापक गुनासो आउने गरेको छ । गुणस्तर परीक्षणमै सेटिङ हुँदा प्रहरी र सशस्त्रको सामानका गुणस्तरको बारेमा गुनासो आउने गरेका छन् ।

सशस्त्रको खरिद हेर्ने प्रबन्धमा पनि विगत ७ बर्षदेखि एसएसपी(डीआईजी बढुवा सिफारिस भएका) दीपेन्द्र कुँवर नै छन् । सशस्त्रको लत्ताकपडा र जुत्ताको गुणस्तर परीक्षण पनि गुणस्तर तथा नापतौल बिभागमै हुँदैआएको छ । गुणस्तर बिभागमा सामानको गुणस्तर परीक्षणमा सेटिङ हुने र लत्ताकपडा गुणस्तरहीन पाइएपछि नेपाल प्रहरीका पूर्वआईजीपीले भारतमा पठाउने गरेका थिए ।

तर भारतमा समेत सेटिङ हुने, कीर्ते रिपोर्ट पेश हुने गरेपछि पछिल्ला दिनमा नेपालमै गुणस्तर परीक्षण हुने गरेको छ ।

को को छन् प्रहरी र सशस्त्रका ठेकेदारहरु ?
लत्ताकपडा, बुट, स्पोर्टस सूको काम गर्ने ठेकेदाहरुमा टोपेन्द्र बीसी, श्रवण अग्रवाल, ज्ञानेन्द्र बस्नेत, दीपक भट्ट, रितेश अग्रवाल, राजमान मिश्र लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077