तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसदका छोरा प्रभात आलेमाथि कुटपिट गरेका छन् ।
जग्गाको बाटो विवादका विषयमा अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा फागुन ७ गते राति ५७ वर्षीया प्रभातलाई पाइपले कुटपिट गरेका हुन् । जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको आलेले बताएका छन् ।
उनका विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए। ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति गरिएकोमा कार्यन्वयन नभएपछि विवाद भएको हो ।
कुटपिटबाट घाइते भएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन् । कुट्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापति समेत रहेका छन् ।
कुटपिटबाट घाइते भएका प्रभातले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएका छन् । थप परीक्षणका लागि पोखरा जान सुझाव दिइएको छ।
अध्यक्ष श्रेष्ठले प्रभातले पहिले आक्रमण गरेकाले आत्मरक्षा गरेको दाबी गरेका छन् ।
घटना सार्वजनिक भएपछि बुधबार प्रभात इलाका प्रहरी कार्यालय बेलचौतारामा जाहेरी दिन पुगे पनि प्रहरीले तत्काल नलिएर उपचारपछि आउन आग्रह गरेको छ ।
दिनभर प्रहरीले जाहेरी नलिएको पीडित प्रभातले गुनासो गरे । यता इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले ठाडो निवेदन परेको वताउने गरेका छन् । थापाले जाहेरी लिन आनाकानी गरेको पीडित पक्षको आरोप छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटना सार्वजनिक हुँदा पनि पीडितको पक्षमा जाहेरी नलिन प्रहरी निरीक्षक थापालाई निर्देशन दिएको आरोप छ।
एसपी शाहीले कुटपिटको विषयमा घाउ जाँच गरेर मात्र जाहेरी लिने प्रक्रिया शुरु हुने वताउने गरेका छन्। घटनामा ठुलो राजनीतिक चलखेल भएका कारण पीडित थप मारमा पर्ने अवस्था देखिएको छ।