काठमाडौं । विभिन्न जिल्लाका एसपीको एक वर्षे कार्यकाल फागुनको पहिलो साता नै पुगेपनि प्रहरी प्रधान कार्यालयले नयाँ एसपी पठाउन सकेको छैन । सरुवामा जान अस्वस्थ चलखेल भएपछि आईजीपी बसन्त कुँवरले सरुवा निकाल्न नसकेका हुन् ।
स्रोतका अनुसार विभिन्न शक्तिकेन्द्रबाट अनेकथरी सिफारिस आईजीपीकोमा पुगेको छ । त्यसरी सरुवा गर्न नसकिने भन्दै आईजीपीले निर्णय रोकेका हुन्।
पछिल्लो दुई सातायता आईजीपी बसन्त कुँवर व्यक्तिगत काममा बढी व्यस्त भएकाले पनि सरुवामा छलफल हुन नसकेको स्रोत बताउँछ ।
धेरै जसो एसपीले झापा र रुपन्देही जिल्ला ताकेका छन् । झापाका मिलन केसी तथा रुपन्देहीका रंजितसिंह राठौरको एक वर्षको अवधि पुगिसकेको छ । ती जिल्लामा जानका लागि प्रदीप क्षेत्री, गोविन्द पुरी, अंगुर जिसी, सन्तोष आचार्य लागेका छन् ।
प्रदीप क्षेत्री कांग्रेसनिकट रहेकाले कांग्रेस नेतामार्फत उनले चलखेल गरिरहेका छन् । एसपी पुरी प्रबन्ध शाखामा बसेर रुपन्देही जान सेटिङ मिलाउन तल्लिन छन् । रुपन्देही नपाए बाँके जान पनि उनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।
एसपी अंगुर जिसी विगतमा रवि लामिछाने निकट रहेकोमा आफु खासमा कांग्रेस निकट भएको भन्दै शक्तिकेन्द्रलाई विश्वासमा पार्ने प्रयासमा छन् ।
रवि लामिछाने गृहमन्त्री छँदा जिसीले भित्रीयाका रुपमा काम गरेको आरोप लागेको थियो । निर्मला काण्डमा निलम्बित भएपछि छानविन चलिरहेकै बेला चेन अफ कमाण्ड बिपरित गएर लामिछानेसँगको टेलिभिजन अन्तवार्तामा जिसी आसुँ निकालेर रोएका थिए।
चितवनमा सरुवा भएर गएका राजन लिम्बुले गौतम मिश्र शैलीमा झापा जान चलेखेल गरिरहेको चर्चा छ। गौतम मिश्र चितवनबाट सिधै पर्सा जाने नमुना र सेटिङवाला एसपीका रुपमा छबी बनाएका छन् ।
लिम्बुले चितवन जिल्ला चलाउन नसकेको भनेर प्रधान कार्यालयमा गुनासो पुगिसकेको स्रोत वताउँछ। सिराहाबाट आर्थिक काण्डमा तानिएका सन्तोष आचार्य यसपटक महत्वपूर्ण जिल्लामा जाने दाउमा लागेका छन् ।
त्यस्तै, 'क' वर्गको जिल्लामा बसिसकेकाहरु भने आकर्षक 'ख' वर्गको जिल्ला ताकेका छन्। पर्सामा हुँदा कुस्त कमाएका कोमलबिक्रम शाह काभ्रेपलाञ्चोक जाने तयारीमा छन् ।
हाल पाल्पा, स्याङजा, गोरखा, सिन्धुली, डोटी, गुल्मी, सुर्खेत, कञ्चनपुर, स्याङजा लगायत जिल्लामा नेतृत्व खाली हुँदैछ ।
त्यस्तै, लुम्बिनी ट्राफिक लगायत केही ट्राफिकका एसपी पनि फेरिने समय भएको छ । कतिपय बिचौलियामार्फत चलखेल गरेर जिल्ला जाने खेलमा लाग्दा निर्णय हुन नसकेको हो ।
अवकाशमा जान लागेका आईजीपीलाई पेलेर सरुवा गराउने गृह मन्त्रालयको तयारी छ । अत्याधिक चलखेल भएमा सर्लाही, रौतहट, बाँके लगायत एसपीको पनि नौ अवधि पुगेकाले सरुवा हुने जोखिम छ ।
समयमा सरुवा नहुँदा अवधि पुगेका जिल्लाका एसपीहरु कमाउनेतर्फमात्र केन्द्रीत हुँदा ती जिल्लाको शान्ति सुरक्षा खस्किएको अवस्था छ ।