काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन्।
नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन्। उनले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए ।
लागूऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको आईजीपी कुँवरको भनाई छ ।
समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको उनले बताए ।
उनले लागुऔषध कारोबार तथा दुर्व्यसनीका घटना नियन्त्रण र निरुपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन निर्देशन दिए ।
आईजीपी कुँवरले विश्वमा करिब ३० करोड र एसियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागुऔषध सेवन कर्ताहरु रहेको बताए । जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उनले बताए ।
लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरू प्रत्येक आर्थिक वर्षमा करिब ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको उनले बताए ।