वीरगञ्ज। मदिराको नसामा नेपाल प्रहरीका एक इन्सपेक्टरले हवल्दारमाथि कुटपिट गरेका छन्।
जिल्ला ट्राफिक कार्यालय, पर्सामा कार्यरत हवल्दार महेशदत्त बढुमाथि इन्सपेक्टर शंकर श्रेष्ठले कुटपिट गरेका हुन्।
घटना शुक्रबार बेलुका वीरगञ्जको मकालु होटलमा भएको हो। हवल्दार बढु पनि त्यहाँ आयोजित भोजमा पुगेका थिए।
इन्सपेक्टर श्रेष्ठ काठमाडौंबाट सो होटलमा पुगेका हुन्। उनी नगर प्रहरी, भृकुटीमण्डपमा कार्यरत छन्।
सानो दर्जाको व्यक्ति भएर ठूला कुरा गरेको भन्दै उनले हवल्दार बढुमाथि गालीगलौच गरी कुटपिट गरेको स्रोत बताउँछ ।
यस विषयमा हवल्दार बढुले उजुरी गरेपछि यो बिषय बाहिर आएको हो । घटना भने वरिष्ठ सई सागर राणाको भाईको बिहे भोजमा भएको र त्यहाँ धेरै व्यक्तिहरु सहभागी थिए।
अपडेट: यसैबीच हवल्दार बढुले इन्सपेक्टर शंकर श्रेष्ठबाट कुटाइ खाएको कुरा असत्य रहेको भन्दै खन्डन गरेका छन्।
बढुले उक्त भोजमा आफु पनि सहभागी भएको तर त्यस्तो कुनै घटना नभएको अनलाइन नेपालसँग वताएका छन्।