सर्लाही । सर्लाहीमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ ।
शुक्रबार राति जिल्लाको कौडेना गाउँपालिका–६, सक्रौलमा चोरको समूहले श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो ।
पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन् । कतिपय स्थानीयले अज्ञात व्यक्ति आएर आँखामा नसालु पदार्थ छर्किएर लुटपाट गरेर फरार भएको बताएका छन् ।
चोरको समूहले स्थानीयको घरभित्र रहेका बाकस, कपडालगायत सरसामग्री खेतमा लगेर फालेको पाइएको छ ।
जिल्लामा श्रृङ्खलावद्धरुपमा चोरीका घटना बढ्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सक्रौल गाउँमा एकैरात पाँच घरमा चोरी भएको घटनाका सम्बन्धमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुल्का उठाएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।