कैलाली । नेपाल प्रहरीका नायब निरीक्षक (सई) योगेन्द्रबहादुर बोहराको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
बझाङको मस्टा गाउँपालिका वडा नम्बर ७ घर भएका ३४ वर्षीय बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो ।
लामो समयदेखि सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका अंगरक्षक रहेका बोहराको सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर २ मा बोहरा सवार सुपप्र ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।