अछाम । आत्महत्या न्यूनीकरण र लागूऔषध नियन्त्रण विषयक जनचेतनामूलक कार्यक्रम अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडास्थित श्री चण्डिका माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछाम, जिल्ला प्रशासन कार्यालय अछाम र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजनामा सो कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
वडा अध्यक्ष रामप्रसाद जैशीको अध्यक्षता र प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा जनचेतनामूलक कार्यक्रम भएको थियो ।
डीएसपी भण्डारीले आत्महत्या न्यूनीकरण र लागूऔषध नियन्त्रणका विषयमा विस्तृत जानकारी प्रदान गर्दै आत्महत्याका कारण, संकेत, रोकथामका उपाय तथा समाजमा यसले पार्ने प्रभावबारे चर्चा गरे । साथै, लागूऔषधका प्रकार, नेपालमा यसको अवस्थालगायत लागूऔषध नियन्त्रणका लागि भएका प्रयासबारे समेत जानकारी गराए ।
कार्यक्रममा विद्यालयका शिक्षक(शिक्षिका तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागिहरूले आत्महत्या न्यूनीकरण तथा लागूऔषध नियन्त्रणबारे गहिरो जानकारी हासिल गरेको बताएका छन् ।
डीएसपी भण्डारी आफै खटिएर अहिले विभिन्न विद्यालयमा पुगेर आत्महत्या न्यूनीकरण तथा लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
यसअघि आइतबार बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ६ माझेठाना दर्नास्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पनि डीएसपी भण्डारी आफै उपस्थित भएर जनचेतनामूलक कार्यक्रम गरेका थिए । अन्य विद्यालयमा पनि जनचेतनामूलक कार्यक्रम गरिने छ ।