काठमाडौं । नेपाल प्रहरीमा ३१ औं आईजीपीको नियुक्तिको तयारीसँगै ३२ औं र ३३ औं आईजीपीको लागि पनि सघंर्ष सुरु भइसकेको छ । ३१ औं आईजीपीको लागि अब ११ दिन मात्र बाँकी छ ।
४ चैतमा बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरी बसन्तबहादुर कुँवरको बिदाई गर्ने सम्भावना छ ।
नयाँ आईजीपीमा एआईजीहरू दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।
उनीहरुमध्ये पनि थापा र गिरीबीच मुख्य टक्कर देखिन्छ । जसमा थापा एक महिनाअघि नै एआईजीमा बढुवा भएकोले उनलाई नै प्रमुख दाबेदार मानिएको छ । जसकारण कुनै उथलपुथल नभएमा आईजीपी बढुवामा ठुलो टक्कर छैन ।
तर, आईजीपी कुँवर र उनका ब्याचका एआईजीले अवकाश पाएपछि रिक्त हुने एआईजी पदको बढुवामा भने तिव्र टक्कर देखिन्छ ।
आईजीपी कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन् । हालका एआईजीबाट एकजना आईजीपी हुने भएकाले थप एक पद गरी ६ वटा एआईजी पद रिक्त हुनेछन् ।
जसमा प्रहरीका तीन ब्याचबीच बढुवाको टक्कर छ । सिनियर ब्याचबाट चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन् । उनीहरु तीनै जना कमजोर कार्यक्षमता भएका प्रहरी अधिकृत मानिन्छन् ।
डीआईजी खापुङ कोशी प्रदेशको प्रहरी प्रमुखका रुपमा काम गर्दा आईजीपीले हटाउन भनेका घुमुवालाई गोप्य रुपमा खटाएर पैसा असुलेको भन्दै स्पष्टीकरण सोधिएको थियो । उनी दरबारमार्ग वृत्तमा हुँदा समेत डनहरुसँग मिलेको आरोपमा कारबाहीमा परेका थिए ।
त्यस्तै, आचार्य र पोखरेल पनि अहिले विवादमा छन् । घुमुवाकै कारण उनीहरु विवादमा परेका हुन् । आचार्य मधेस प्रदेशको प्रहरी प्रमुख छन् भने पोखरेल बागमति प्रदेशको । दुवैको सरुवाको समय पनि हुन लागेपछि घुमुवामार्फत पैसा उठाउन व्यस्त छन् ।
यो ब्याचबाट दुई महिनाका लागि आईजीपी हुने सम्भावना समेत छ । उनीहरु प्रहरी महानिरीक्षक कुँवर ब्याचका अधिकृतसँगै इन्सपेक्टर भर्नाको परीक्षामा सहभागी भएकोमा नियुक्ति भने ०५२ साल कात्तिक २७ गते दिइएको थियो ।
कुँवरपछि नियुक्त हुने ३१ औं आईजीपीको कार्यकाल नथपिएमा १९ भदौमा अवकाश पाउनेछन् । त्यो अवस्थामा यो ब्याचबाट एक जना दुई महिनाका लागि आईजीपी हुने सम्भावना छ ।
त्यसपछि २०५४ को चैत १८ गते भर्ना भएको टोलीबाट ३२ औं आईजीपीका लागि मुख्य दाबेदार रहनेछ । जसमा डीआईजी दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी गत वर्ष नै बढुवा भएकाले उनीहरु सिनियर छन् ।
यो ब्याचबाट लामो समय आईजीपी हुने भएकाले बढुवामा टक्कर छ । यो ब्याचलाई गुप्तचर टोलीले टक्कर दिइरहेको छ ।उनीहरु रवि लामिछानेको कार्यकालमा डीआईजी भएकाले अहिले समस्यामा परेका छन् ।
खासगरी कार्की र केसी लामिछाने निकट भएको आधारमा बढुवा भएको आरोप लागेको छ । यद्यपी कार्कीको भने सबै दलसँग राम्रो सम्बन्ध छ । केसी भने नेताको चाकडीमा नजाने भएकाले उनी अहिले एआईजी बढुवामै छुट्ने जोखिम छ ।
राजन अधिकारीको केपी ओलीसँगको निकटताका कारण बलिया देखिएका छन् । उनीहरुपछि गत मंसिरमा सरकारले डीआईजीमा बढुवा गरेका शिद्धिबिक्रम शाह, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बरबहादुर विक र सुशिलसिंह राठौर पनि अहिले एआईजी बढुवामा टक्कर दिइरहेका छन् ।
उनीहरु २०५३ को पुस ९ गते गुप्तचरमा भर्ना भई पछि नेपाल प्रहरीमा स्थानान्तरण भएका हुन् । दानबहादुर कार्कीको ब्याचबाट आईजीपी हुने भएकाले आफुहरुलाई रोक्न नहुने भन्दै उनीहरु लबिइङमा लागेका छन् ।
यो ब्याचबाट शिद्धिबिक्रम सबैभन्दा धेरै चलखेलमा लागेका छन् । जबकी रौतहटदेखि ललितपुर हुँदासम्म उनी कारबाहीमा परेर हटाइएका अधिकृत हुन् ।
त्यस्तै, दुई महिनाअघि मात्र डीआईजी भएका २०५४ कै ब्याचका दिनेश आचार्य, ईश्वर कार्की अरुण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलिया पनि एआईजी बढुवाको दौडमा छन् ।
उनीहरुमध्ये आचार्यलाई एआईजी बढुवाका दाबेदार मानिएको छ । अन्य डीआईजीहरु भने प्रदेश जाने लबिइङमा लागिसकेका छन् ।
एआईजीका ६ पदमा हुने बढुवाले नै आगामी आईजीपी तय गर्ने भएकाले चलखेल तिव्र भएको हो । यसमा सत्तारुढ दल कांग्रेस र एमालेबीच समेत टक्कर पर्ने सम्भावना छ ।