अछाम । डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालले चौरपाटी गाउँपालिकामा गतिविधि बढाएको छ । मातृभूमि जागरण अभियानले विभिन्न वडामा पुगेर संगठन विस्तार र भेलालाई तीव्रता दिएको हो ।
अछामको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा रावलको अभियानले बढी प्रभाव पार्ने देखिन्छ । नेकपा एमालेबाट निष्कासनमा परेका डा. रावलले यी दुई पालिकामा बढी प्रभाव पार्ने आकल गरिएको छ ।
केही दिनअघि मात्रै मातृभूमि जागरण अभियानले चौरपाटीको वडा नम्बर ६ र वडा नम्बर ५ मा भेला गरेको थियो । वडा नम्बर ६ दुनीमा त मातृभूमि जागरण अभियानको पक्षमा ठूलै भीड देखिएको थियो । तर एमालेले पनि चौरपाटी गाउँपालिकामा जरा केन्द्रित अभियानलाई तीव्रता दिइरहेको छ ।
डा. रावलको प्रभावलाई निस्तेज पार्न पनि यो अभियानले सहयोग पुग्ने एमालेको विश्वास छ । पालिकाका विभिन्न वडामा प्रदेशदेखि जिल्लास्तरका नेताहरुको बाक्लो उपस्थिती छ । उनीहरुले आफ्ना कार्यकर्तालाई अन्यत्र नगएर एमालेमै रहन आग्रह गरिरहेका छन् । शुक्रबार मात्रै वडा नम्बर ६ दुनीमा एमालेले जरा केन्द्रित कार्यक्रम गरेको छ ।

जसमा एमाले अछामका अध्यक्ष चन्द्र बोहरासहित प्रदेश, जिल्ला र स्थानीय नेताहरुको सहभागिता रहेको थियो । एमालेका नेता राम बहादुर आउजीले दुनीमा आगामी निर्वाचनमा पनि एमालले जित्ने दाबी गरे ।
उनले आफूहरुले एमाललेलाई हार्न पनि नदिने बताए । दुनीमा अरु पार्टीले जित्ने दिवासपना नदेख्न पनि उनले चेतावनी दिए । उनले भीम रावल अवसरवादी नेता भएको दाबी गरे । यस्तै एमाले अछामका अध्यक्ष बोहराले पनि सबै कार्यकर्तालाई एमालेमै रहन र विचलित नहुन आग्रह गरे ।
यसअघि चौरपाटी गाउँपालिकामा पनि एमालले जरा केन्द्रित कार्यक्रम गरिसकेको छ । अहिले पालिकाका विभिन्न वडा र टोल केन्द्रित अभियान जारी छ ।