काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रका नाममा १८ वर्षेदेखि देश र जनतालाई लुटिएको आरोप लगाएका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो आरोप लगाएका हुन् ।
उनले २०६३ को जनआन्दोलन दरबार र दलहरूबीच भएको सम्झौताका आधारमा टुङ्गिएको दाबी गर्दै राजाले सम्झौताप्रति इमानदारी देखाए पनि दलहरूले विदेशी दबाबमा सम्झौताविपरीत राजसंस्थालाई हटाउने निर्णय गरेको आरोप लगाए।
'गणतन्त्रको वकालत गर्नु एउटा कुरा हो, तर राजालाई दया गरेर कारबाही नगरिएको गफ नगरियोस्। जनता साक्षी छन्,' उनले भने।
अध्यक्ष थापाले विगत १८ वर्षको अवधिमा लोकतन्त्रको आवरणमा देश लुटिएको र जनताका आकांक्षामाथि खेलवाड भएको जिकिर गरे। उनले १७ हजार नागरिक मार्ने, युवा शक्तिलाई विदेश पलायन गराउने, र राष्ट्रको सम्पत्ति दोहन गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
'देशलाई डर त्रासले होइन, सबै नेपालीलाई समेट्ने मौलिक प्रजातन्त्रको विकास गरेर अघि बढ्नुपर्छ,' उनले भने।