काठमाडौं । नेपाल प्रहरीको 'डीएसपी हुँ' भन्दै विभिन्न बहानामा ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको हो ।
प्रहरी वृत्त महाराजगञ्जमा प्राप्त उजुरी अनुसार श्रेष्ठले आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै केदारप्रसाद पौडेल, सम्भुप्रसाद पौडेल, सुजन थापा र नारायणबहादुर राउतलगायतलाई सम्पर्क गर्दै ठगी गरेका थिए।
उनले फुलमाया कामीलाई ‘रिटायर्ड डीएसपी हुँ, इन्टरपोलमा काम गर्छु, विदेशका उच्च पदस्थ व्यक्तिहरूसँग राम्रो सम्बन्ध छ’ भन्दै विभिन्न देशहरूमा पठाइदिने आश्वासन दिएर ७ लाख ८७ हजार रुपैयाँ ठगेको उजुरी परेको छ।
प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठको संलग्नता प्रमाणित भएपछि उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ ।