कालीकोट । कालीकोटमा युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ जनालाई पक्राउ गरेको हो ।
खाँडाचक्र नगरपालिका-१० चौकीस्थित हस्तबहादुर मल्लको नयाँ घरको पूजा र रमाइलो हेर्न आएका दुई गाउँका युवकहरूबीच विवाद भएको थियो ।
विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो । घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन् ।
झगडाले ठूलो रूप लिएपछि कुटपिट र चक्कु प्रहारबाट एक जना किशोरको घटना स्थलमै मृत्यु भएको कालीकोट प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उक्त घटनामा थप संलग्न युवालाई प्रहरीले खोजी कार्य जारी राखेको छ।