Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वडाध्यक्षमाथिको कुटपिटमा प्रहरी नै मुछिए

वडाध्यक्षमाथिको कुटपिटमा प्रहरी नै मुछिए

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथिको संघातिक हमलामा नेपाल प्रहरीकै एक वरिष्ठ सई मुछिएका छन् ।

होलिको दिनमा वीरगञ्जको पानि ट्यांकीस्थित डाइमन प्यालेसमा सई सागर राणासहितको ७ जनाको समूहले आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । तर, प्रहरीले उनको जाहेरी भने दर्ता गरेको छैन ।

पीडितबाट प्राप्त भिडियोमा कुटपिटमा अन्य एक जना प्रहरी पनि संलग्न रहेको देखिन्छ ।

प्यालेसका सञ्चालक वीरेन्द्र पटेलले आफ्नो छोराको जन्मदिन र होलीको अवसर पारेर आफ्ना इष्टमित्रलाई भोजमा बोलाएको बेला यो घटना भएको वडाध्यक्ष चतुर्वेदीले बताएका छन् ।

सोही कार्यक्रममा सहभागी भएर खाना खाइरहेको बेला भूषाल चौरसियासहित सई राणाको समूह राती सवा ९ बजे एक्कासी भित्र प्रवेश गरी  फलामको रड र हेल्मेट प्रहार गरी आक्रमण गरेको अध्यक्ष चतुर्वेदीले बताएका छन् ।

मुल ढोकामा रहेका पालेलाई समेत हातपात गर्दै भित्र प्रवेश गरेको उक्त समूहले ज्यान नै लिने उद्देश्यले आफूमाथि संघातिक आक्रमण गरेको चतुर्वेदीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

यद्यपी प्रहरीले जाहेरी दर्ता गर्न नमानेको वडाध्यक्ष चतुर्वेदीले बताएका छन् । प्रहरीले घाउचोटका लागि फारम दिएर टार्ने काम गरेको भन्दै उनले जाहेरी दर्ता गरेर प्रहरीले आक्रमणकारीहरुलाई पक्राउ नगरे न्यायका लागि पत्रकार सम्मेलन गर्नुको विकल्प नरहेको अनलाइन नेपालसँग थप बताए ।

वडाध्यक्ष चतुर्वेदीले प्रहरीमा दिएको जाहेरीका बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालसँग बुझ्दा आफू स्ववियु निर्वाचनमा व्यस्त भएकाले उजुरीबारे केही जानकारी नभएको प्रतिकृया दिए ।

यता, भूषाल चौरसियाले भने वडाध्यक्ष चतुर्वेदीले आफूहरूलाई गालीगलौज गरेपछि झगडा भएको बताउने गरेका छन् ।

घटनापछि वडाध्यक्ष चतुर्वेदी र चौरसिया वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। चतुर्वेदीको छाती र टाउकोमा चोट लागेको छ भने चौरसियाको हातमा चोट लागेको छ।

घटनापछि भुसाल चौरासिया पक्राउ परेको भएपनि उनी सोही दिन नै छुटेको अध्यक्ष चतुर्वेदीले अनलाइन नेपालसँग बताए ।

त्यसो त वडाध्यक्ष चतुर्वेदी पनि बेला बेलामा विवादमा आइरहने व्यक्ति हुन् । उनीमाथि २०८० कार्तिकमा महानगरपालिकाको सरसफाई शाखामा कार्यरत ट्याक्टर ड्राइभर टेक महमदमाथि हातपात गरेको अभियोग लागेको थियो ।

यस्तो छ अध्यक्ष चतुर्वेदीले प्रहरी समक्ष दिएको जाहेरी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077